सुनसरीमा सीमापार लागूऔषध र भारतमा मदिरा तस्करी : दुवै देशका लागि टाउको दुखाई बन्यो
सुनसरीको नेपाल–भारत सीमा क्षेत्रमा लागूऔषधको ओसारपसार, बिक्रीवितरण र सेवन बढ्दै जाँदा नेपाली समाज त्यसको गम्भीर असरबाट आक्रान्त बन्दै गएको छ।
विशेषगरी ब्राउन सुगर तथा विभिन्न प्रतिबन्धित औषधिजन्य ट्याब्लेटको प्रयोगमा युवापुस्ताको संलग्नता बढ्नु चिन्ताको विषय हो। लागूऔषधको कुलतले व्यक्तिगत स्वास्थ्यमा मात्र होइन, परिवार, सामाजिक सम्बन्ध र समग्र समुदायको सुरक्षामै चुनौती थपिरहेको छ।
यता, सुनसरीसँग सीमा जोडिएका भारतको सुपौल र अररिया जिल्लाअन्तर्गत भीमनगर, वीरपुर, बेलाहा, बसमतिया, घुर्नालगायतका सीमावर्ती क्षेत्रमा नेपालबाट अवैध रूपमा जाने मदिरा भारतीय सुरक्षाकर्मीका लागि अर्को चुनौती बनेको देखिन्छ।
बिहारमा मदिराको बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध रहेकाले नेपालबाट हुने मदिरा तस्करी नियन्त्रण भारतीय सुरक्षा निकायका लागि थप संवेदनशील विषय बनेको छ।
यही सन्दर्भमा भारततर्फ SSB ४५औँ वाहिनी सशस्त्र सीमा बल, वीरपुरले सीमा चौकीहरू परिचालन गरी नेपाली मदिराको अवैध ओसारपसार नियन्त्रण अभियानलाई तीव्रता दिएको छ।
पछिल्लो कारबाहीमा नेपाली मदिरा, मोटरसाइकल तथा साइकल बरामद हुनु र संलग्न व्यक्तिहरू पक्राउ पर्नुले सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबारको स्वरूपलाई समेत उजागर गरेको छ।
तर सीमामा मदिरा वा लागूऔषध नियन्त्रणको प्रश्नलाई केवल पक्राउ र बरामदमा सीमित राखेर समाधान खोज्न सकिँदैन। यो दुवै देशसँग जोडिएको साझा सीमापार समस्या हो।
नेपालबाट भारततर्फ अवैध रूपमा मदिरा जानु र भारतबाट नेपालतर्फ लागूऔषध भित्रिनु एउटै सीमावर्ती सुरक्षा चुनौतीका फरक पाटा हुन्। ।
त्यसैले दुवै देशका सुरक्षा निकायबीच सूचना आदानप्रदान, संयुक्त निगरानी र समन्वय अझ प्रभावकारी बनाउन आवश्यक छ।
विशेषगरी नेपालतर्फ लागूऔषधको स्रोत, ओसारपसार गर्ने सञ्जाल, बिक्रीवितरण गर्ने समूह तथा प्रयोगकर्तासम्म पुग्ने गरी अनुसन्धान र नियन्त्रण अभियान सञ्चालन गर्न जरुरी छ।
पक्राउ परेका व्यक्तिलाई कारबाही गर्नुका साथै लागूऔषधको आपूर्ति सञ्जालको जरोसम्म पुग्न नसकेसम्म समस्या पूर्ण रूपमा नियन्त्रणमा आउन कठिन हुन्छ। त्यसैगरी युवापुस्तालाई कुलतबाट जोगाउन विद्यालय, परिवार, स्थानीय तह, सुरक्षा निकाय र नागरिक समाजबीच सहकार्य आवश्यक छ।
भारततर्फ पनि नेपालबाट हुने मदिरा तस्करी नियन्त्रणका लागि नेपाली पक्षसँग समन्वय बढाउनु उत्तिकै आवश्यक छ। सीमा क्षेत्रमा एकअर्काका सुरक्षा चासोलाई सम्मान गर्दै सहकार्य गर्ने हो भने अवैध कारोबार नियन्त्रण थप प्रभावकारी बन्न सक्छ।


0 Comments