१०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति : नवौं संस्करणदेखि हालसम्मको सम्पूर्ण विवरण
नेपालको खेलकुद क्षेत्रको महाकुम्भ मानिने राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति फेरि एकपटक परिवर्तन भएको छ। विभिन्न बोर्ड बैठक र निर्णयहरूका कारण १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सर्दै आएको छ।
१. १०औं राष्ट्रिय खेलकुदको मिति परिवर्तनको क्रम
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विभिन्न बैठकहरूले १०औं संस्करणको मिति यसअनुसार परिवर्तन गरेका छन्:
- पहिलो पटक राखेपको ११५औं बोर्ड बैठकले वि.सं. २०८१ मंसीर २ देखि ९ गतेसम्म गर्ने निर्णय गरेको थियो।
- त्यसपछि मिति संशोधन गरेर राखेपको ११८औं बैठकले २०८१ चैत २३ देखि ३० गतेसम्म पुर्याएको थियो।
- फेरि मिति परिवर्तन हुँदै वि.सं. २०८२ जेठ ३ देखि १० गतेसम्म तय गरिएको थियो।
- तत्पश्चात राखेपको १२३औं बोर्ड बैठकबाट मिति तय भई मन्त्रिपरिषद्बाट समेत वि.सं. २०८२ फागुन १ देखि ७ गतेसम्मका लागि स्वीकृत भएको थियो।
- तर हालै राखेपको १२५औं बोर्ड बैठकको पछिल्लो निर्णयअनुसार १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी वि.सं. २०८३ मंसीर १६ गतेदेखि २९ गतेसम्म हुने भएको छ।
२. एक नजरमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९
दसौं संस्करणको तयारी भइरहँदा गण्डकी प्रदेशमा सम्पन्न भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको स्मरण गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
- आयोजक: गण्डकी प्रदेश
- आयोजना अवधि: वि.सं. २०७९ असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म
- प्रतियोगिताको नारा: "एकताबद्ध देश, खेलकुदको सन्देश"
- सहभागी टोलीहरू: जम्मा ११ वटा टिमहरू (७ वटा प्रदेश, ३ वटा विभागीय टोली र गैरआवासीय नेपाली संघ - NRNA) को सहभागिता रहेको थियो।
- कुल खेल र स्पर्धा: यस प्रतियोगितामा ३६ वटा खेलहरू समावेश गरिएका थिए भने ४०४ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो।
- टिम च्याम्पियन: प्रतियोगितामा १७२ वटा स्वर्ण पदक जितेर त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बन्न सफल भएको थियो।


0 Comments