PRESENTING WRITER
Rajendra Rana
रसुवा बाढी आउँदा आकाशमै थिएँ
— पाइलट रविन्द्रबहादुर बस्नेतको अनुभव
गोसाइँकुण्डबाट काठमाडौं फर्कंदै थिएँ। बिहानको समय थियो। त्यही बेला भोटेकोशी हुँदै टिमुरेतर्फ जाँदै गरेका नेपाली सेनाका पूर्व कर्णेलसमेत रहेका एक जना पाइलटले मलाई सम्पर्क गर्नुभयो। उहाँले आकाशबाट भोटेकोशीमा आएको भयानक बाढी देख्नुभएको रहेछ।
उहाँले आफ्नो टावरसँग सम्पर्क गर्न खोज्नुभएको रहेछ, तर सम्पर्क हुन सकेनछ। त्यसपछि मलाई खबर गर्नुभयो। उहाँले आकाशबाट देखेको दृश्य र अवस्थाबारे मलाई जानकारी दिनुभयो।
मैले उहाँले दिएको सूचना जस्ताको तस्तै एयरपोर्ट टावरलाई रिले गरेँ। आकाशबाटै नेपाली सेनाका जर्नेललाई एसएमएसमार्फत पनि घटनाबारे जानकारी गराएँ।
बाढी बिहान करिब ९ बजे आएको सूचना थियो। ९ः३० बजे सम्बन्धित टावरमा जानकारी पुगेको थियो। त्यसको १५ मिनेटमै, ९ः४५ बजे नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि विपद् क्षेत्रमा उडिसकेको थियो।
यति छोटो समयमा बाढीको सूचना प्राप्त भएर सरकारी पक्षबाट उद्धारका लागि हेलिकप्टर परिचालन हुनु विरलै हुने घटना हो। मेरो अनुभवमा यति छिटो उद्धारका लागि प्रतिक्रिया जनाइएको यो पहिलो रेकर्ड हो।
त्यसपछि उद्धारका लागि हेलिकप्टरहरू परिचालन हुन थाले। निजी क्षेत्रका १०–११ वटा र नेपाली सेनाका सातवटा गरी १७ वटा हेलिकप्टर उद्धारमा परिचालन भएका थिए। हाम्रो हेलिकप्टर भने करिब ११ः५० बजे उडेको थियो।
गृह मन्त्रालयको निर्णयपछि सशस्त्र प्रहरीको टोली विमानस्थलमा आउन, आवश्यक तयारी गर्न र उडान व्यवस्थापन गर्न केही समय लाग्यो। त्यसपछि सशस्त्र प्रहरीको टोलीलाई धुन्चेसम्म पुर्याइएको थियो।
कहालीलाग्दो दृश्य
घटनास्थलतर्फ जाँदा देखिएको दृश्य कहालीलाग्दो थियो। गाउँको कुनै निशाना थिएन। पातसमेत देखिँदैनथ्यो। जहाँसम्म हेरे पनि हिलो र लेदो मात्र देखिन्थ्यो।
म १० दिनअघि मात्र मानसरोवर पुगेको थिएँ। तर रसुवामा त्यो दिन देखेको दृश्यले मनमा छुट्टै पीडाबोध गरायो। त्यो बाढी कल्पनाभन्दा बाहिरको थियो।
माथिल्लो क्षेत्रमा ठूलो फ्लो आएको र त्यसको प्रभाव तलसम्म पुगेको देखिन्थ्यो। करिब १७ हजार फिटको क्षेत्रबाट आएको फ्लो पाँच हजार फिटसम्म ब्रस्ट भएको अवस्थाले त्यसले कति ठूलो क्षति पुर्यायो होला भन्ने अनुमान गर्न पनि गाह्रो थियो।
हेलिकप्टर ल्याण्ड गर्नसमेत निकै कठिन अवस्था थियो। व्यवस्थित हेलिप्याड थिएन। बस्तीको निशाना थिएन। जहाँ केही खुला ठाउँ देखिन्थ्यो, त्यहाँ पनि हिलो र लेदो मात्र थियो।
पहिलो उद्धार
टिमुरेबाट पहिलोपटक चार–पाँच जनालाई उद्धार गरिएको थियो। उनीहरूलाई नजिकको सुरक्षित स्थानबाट हेलिकप्टरमा ल्याइएको थियो।
एउटा फ्रेन्च हेलिकप्टरमा चार जनासम्म मात्र बोक्न सकिने अवस्था थियो। त्यसैले उद्धारमा प्रत्येक उडान आफ्नै चुनौती बोकेर आएको थियो।
कुन ठाउँमा कुन हेलिकप्टर उडाउनु, कहाँबाट मानिस निकाल्नु, कहाँ ल्याण्ड गर्ने र आवश्यक परे बकेटबाट उद्धार गर्ने भन्ने निर्णय तत्काल गर्नुपर्ने अवस्था थियो।
४० किलोमिटरमा १७ हेलिकप्टर
त्रिशूलीदेखि टिमुरेसम्म करिब ४० किलोमिटरको एउटै साँघुरो भ्यालीमा १७ वटा हेलिकप्टर परिचालन भएका थिए।
दुईवटा पहाडले घेरेको साँघुरो भ्यालीमा यति धेरै हेलिकप्टर उडाउनु आफैँमा चुनौतीपूर्ण थियो। एकै क्षेत्रमा यति धेरै हेलिकप्टर परिचालन हुँदा आपसी सञ्चार, समन्वय र सतर्कता अत्यन्तै महत्वपूर्ण हुन्छ।
कुन ठाउँमा कुन हेलिकप्टर उडाउनु, कहाँबाट उद्धार गर्नु, कहाँ ल्याण्ड गर्ने र कुन हेलिकप्टरले कुन जिम्मेवारी लिने भन्ने विषयमा निरन्तर समन्वय आवश्यक थियो।
करिब ४० किलोमिटरको क्षेत्रमा १७ वटा हेलिकप्टर उडाउनु, त्यसबीच सञ्चार र समन्वय कायम गर्नु अरूका लागि पनि प्रेरणादायी कुरा हो। विपद्को यस्तो कठिन अवस्थामा सबै पक्षबीच राम्रो समन्वय भयो भने सीमित स्रोतसाधनबाट पनि ठूलो उद्धार अभियान सञ्चालन गर्न सकिन्छ भन्ने त्यस दिनको अनुभवले देखाएको छ।
२९ वर्षको उडान अनुभवमा पृथक उद्धार
हेलिकप्टर उडाएको २९ वर्ष भयो। नेपाली सेनामा २३ वर्ष हेलिकप्टर उडाएँ। सेनामा हुँदा कठिनभन्दा कठिन उद्धारमा सहभागी भएको छु।
तर रसुवाको यो उद्धार मेरो अनुभवमा बिल्कुलै पृथक थियो।
यो सामान्य उद्धार थिएन। न व्यवस्थित हेलिप्याड थियो, न बस्तीको स्पष्ट निशाना। चारैतिर हिलो र लेदो थियो। साँघुरो खोँचमा धेरै हेलिकप्टर परिचालन भइरहेका थिए।
एकातिर सुन्यता थियो, अर्कोतिर उद्धारका बेला कोलाहल। त्यही अवस्थाबीच उद्धार टोलीले काम गरिरहेको थियो।
कुन ठाउँमा कुन हेलिकप्टर उडाउनु, कहाँबाट मानिस निकाल्नु, कहाँ ल्याउनु र आवश्यक परे बकेटबाट उद्धार गर्नु—हरेक काम तत्काल निर्णय र समन्वयमा निर्भर थियो।
त्यसैले मेरो अनुभवमा यो अनौठो रेस्क्यु हो। युद्धस्तरमा गरिएको त्यो उद्धार मेरो कल्पनाभन्दा माथिको थियो।
सबै पक्षको समन्वय
उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, सरकारी निकाय तथा स्थानीय पक्षले खेलेको भूमिका उदाहरणीय रह्यो।
कम साधनस्रोतका बाबजुद उद्धार कार्य सोचेभन्दा राम्रो भयो। सबै पक्षबीच प्रभावकारी सञ्चार र समन्वय भएकै कारण कठिन परिस्थितिमा पनि उद्धार कार्यलाई अघि बढाउन सम्भव भयो।
साँघुरो खोँचमा उद्धारका लागि यति धेरै हेलिकप्टर परिचालन हुनु आफैँमा उदाहरणीय थियो।
अब अर्ली वार्निङमा ध्यान दिनुपर्छ
त्यो घटनाले मलाई एउटा महत्वपूर्ण कुरा सोच्न बाध्य बनाएको छ—विपद् आएपछि उद्धार गर्ने क्षमता मात्र पर्याप्त हुँदैन। विपद् आउनुअघि नै त्यसको सूचना पाउने प्रणाली पनि बलियो हुनुपर्छ।
बिहान ९ बजे बाढी आयो, ९ः३० बजे सूचना भयो र ९ः४५ बजे सरकारी पक्षबाट उद्धारका लागि पहिलो हेलिकप्टर उड्यो। यति छोटो समयमा उद्धार संयन्त्र परिचालन हुनु सकारात्मक पक्ष हो।
अब हामीले अर्ली वार्निङ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ। नदीको माथिल्लो क्षेत्रमा हुने असामान्य गतिविधिको सूचना समयमै पाउने र त्यो सूचना तत्काल स्थानीय तह, सुरक्षा निकाय, सरकार तथा उद्धारमा संलग्न सबै पक्षसम्म पुर्याउने व्यवस्था आवश्यक छ।
रसुवाको त्यो घटनाले एउटा कुरा स्पष्ट देखाएको छ—कम साधनस्रोत भए पनि समयमै सूचना, तत्काल निर्णय, प्रभावकारी सञ्चार र समन्वय भयो भने कठिनभन्दा कठिन अवस्थामा पनि उद्धार गर्न सकिँदो रहेछ।
तर भविष्यमा हाम्रो प्राथमिकता विपद् आएपछि उद्धार गर्नेभन्दा विपद् आउनुअघि नै चेतावनी दिएर मानवीय क्षति कम गर्ने प्रणाली निर्माण गर्नु हुनुपर्छ।
रसुवाको त्यो दिन मेरो २९ वर्षको उडान जीवनमा कहिल्यै नबिर्सने एउटा पृथक उद्धार अनुभव बनेको छ।#सुधिर शर्माले गरेको अन्तरवार्ता साभार


0 Comments